काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा भएको छ । हिंसा नियन्त्रण गर्न सरकारले कर्फ्यूको घोषणा गरेको हो । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।
तर मृत्यु हुनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अुनमान गरिएको छ । बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूले आन्दोलन गर्दै आएका छन् ।
राजधानी ढाकालगायतका शहरमा ठुलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । हिजो नरसिङदीको कारागारमा आक्रमण हुँदा सयौँ कैदी बाहिरीएपछि प्रधानमन्त्रीको कार्यालयले देशव्यापी कर्फ्यूको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्ने तयारी छ । बङ्गलादेशका विद्यालय र विश्वविद्यालय अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।



