वीरगञ्ज । चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ५ जनाका परिवारलाई गाउँपालिका कार्यालयले राहत स्वरूप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका ४ र महुवन स्वास्थ्य चौकीमा कार्यरत १ सहित ५ जना परेको जानकारी दिँदै, उनीहरूका परिवारलाई जनही १र१ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव भेटिएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी-२ जमुनियाकी २४ वर्षीय प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधबार भेटिएको थियो । उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ ।
बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ । उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगञ्जबाट काठमाडौं जाँदै गरेका थिए ।
यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसौनी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन । आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए ।
यसअघि उक्त दुर्घटना भएकै दिन गत शुक्रबार पनि खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खोजी र उद्दार कार्यको जानकारी लिएका थिए ।



