काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच विवाद भएको छ । शुक्रबार बसेको बैठकमा सत्तापक्ष सांसदले प्रतिपक्षीका कारण गणपुरक संख्या नपुगेको र बैठक अवरुद्ध हुन पुगेको आरोप लगाएपछि प्रतिपक्षी सांसदहरुले विरोध जनाएका थिए । प्रतिपक्षी सांसदहरुले बिधेयक अघि बढाउन सरकारले सदनमा बहुमत पुराउन नसकेका आरोप लगाएका थिए । बैठकमा कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको बताउनुभएको थियो । उहाले कांग्रेसको महासमिति बैठक चलिरहदा पनि कांग्रेस सांसद बैठकमा सहभागि भएको बताउनुभयो ।
सांसद केसीले धारणा राखेपछि प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । एमाले एमाले प्रमुख सचेतक पदम गिरीले विधेयक पारित गराउने जिम्मेवारी सरकारको भएको भन्दैै एमालेमाथि हिलो छ्याप्ने काम भएको बताउनुभयो । त्यस्तै रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडी नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताउनुभयो । त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाउनुभयो । उहाले यथास्थीतिमा संसद चल्न नसक्ने बताउनुभयो ।
त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाले संसदमा सभामुखको भूमिकाप्रति पनि आपत्ती जनाउनुभयो । उहाले बिभिन्न बहानामा सदन अवरुद्ध गर्ने प्रयास भएको भन्दै सदन चल्न नदिने भए राजीनामा दिएर सडकमा जान सुझाव दिनुभयो ।
