काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले रूस–युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा उहाले रूस–युक्रेन युद्धमा रहेका नेपालीहरुको अवस्था अज्ञात रहेको र परिवारका सदस्यहरु थप पिडामा परेको भन्दै सो स्थानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गर्नुभएको हो ।
सयौंको संख्यामा रुसी सेनामा नेपालीहरु रहेपनि उनीहरुको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालय असफल रहेको उहाले बताउनुभयो । उहाले नेपालीहरु रुसी वा युक्रेनी सेनामा पुराउने अवस्थाको छानविन गर्नुपर्ने धारणा राख्नुभयो । अनाधिकृत रुपमा रुस युक्रेनमा फर्काउन सरकारले तत्परता समेत नदेखाएको उहाको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले लिने सेवा शुल्क सरकारले तोक्न नसक्दा मनोमानी रुपमा शुल्क असुलीरहेको बताउनुभयो । विरामीले पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै उहाले आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गर्नुभयो ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा सरकार असफलजस्तै भइसकेको र संसद चार दलको रवरस्ट्याम्प बनेको आरोप लगाउनुभयो । उहाले सत्ता गठबन्धनभित्र जनताका मुद्धा भन्दा पनि विपक्षीलाई कसरी प्रतिरोध गर्ने भन्नेमात्रै केन्द्रीत भएकाले देश बनाउने बिषयमा छलफल गर्नुपर्ने बताउनुभयो । त्यस्तै सांसद सांसद सुनिता बरालले लघुपित्त, मिटरव्याजपीडितको मागमा गम्भीर हुन माग गर्नुभयो । त्यस्तै माओवादी सांसद नारायणी शर्माले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गर्नुभयो ।
