काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन कायम हुने डरले कांग्रेस–एमाले गठबन्धन बनेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको सरकारको ध्यान मुलुकको समृद्धि र सुशासनका केन्द्रीत भएको र मुलुकमा सुशासन हुने भय र डरले कांग्रेस–एमाले गठबन्धन बनेको बताउनुभएको हो ।
उहाले रहस्यमय ढंगले संविधानमा छेडखानी गर्ने प्रयास भएको र कांग्रेस–एमाले गठबन्धन प्रतिगमनतर्फ उन्मुख रहेको आरोप लगाउनुभयो । नियम सफा भए दुई ठूदा दल मिल्न बन्द कोठा र मध्यरात चाहिन्छ भन्दै उहाले प्रश्न गर्नुभयो ।
प्रचण्डले दुई दललाई कसले मिलाएको हो भन्ने प्रष्ट भएको भन्दै राष्ट्रिय सहमतिको नाममा जनतालाई गुमराहमा राख्न खोजिएको धारणा राख्नुभयो । उहाले आफू अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेकाहरुले आफुलाई नैतिकताको पाठ पठाउने प्रयास गरेको तर्क गर्नुभयो ।
उहाले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने उहाले स्पष्ट पार्नुभयो ।
उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको भन्दै उहाले आउने दिनमा पनि त्यसरी नै बचाइने जिकिर गर्नुभयो ।
प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गर्नुभयो । उहाले बिभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएको समेत बताउनुभयो । विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उहाले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिनुभयो ।
प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो । उहाले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति नदेखाए देश अप्ठेरो अवस्थामा जाने उल्लेख गर्नुभयो । प्रचण्डले बालुवाटारबाट सिंहदरबारको शासन चलाउने गलत परम्परा तोडेको भन्दै आफ्नो नेतृत्वको सरकार राम्रो अंकका साथ उर्तिण भएको दावी गर्नुभयो ।
