काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको र यसले स्थीरता नदिने पार्टीको निष्कर्ष रहेको भन्दै उक्त सहमति प्रति आशंका व्यक्त गर्नुभयो ।
सदनमा छलफल भइरहदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रयाल भइरहेको उहाले आरोप लगाउनुभयो । उहाले दिनभर प्रधानमन्त्रीसंग छलफल गर्ने र अर्का नेताहरुलाई कांग्रेससंग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको तर्क गर्नुभयो ।
सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गर्नुभयो । गिरिबन्धु प्रकरणका आत्तिएर समिकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उहाले बताउनुभयो ।
उहाले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पार्नुभयो । सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताउनुभयो ।
उहाले माओवादीले अन्य दलसंग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गर्नुभयो ।सापकोटाले संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पुराउन कांग्रेस–एमाले सफल हुनसक्ने भएपनि राष्ट्रियसभामा असम्भव रहेको बताउनुभयो ।
