काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै आन्दोलनको सुरुवात गरेको छ ।
बुधबार सिंहदरबारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाउनुभएको हो ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाइएको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।
देशले नयाँ बाटो लिनका लागि सवैलाई समेटेर अघि बढ्न प्रधानमन्त्रीलाइ सुझाव दिइएको उहाले बताउनुभयो । आफुहरुको मागपत्रलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको लिङ्देनले जानकारी दिनुभयो । उहाले आफुहरुले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानविनलाई पूर्णता दिन पनि माग गरेको बताउनुभयो ।
राप्रपाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्न आग्रह गर्नुभएको थियो । ज्ञापनपत्र अघि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क लगाएतका क्षेत्रमा राप्रपाले र्याली निकालेको थियो ।
