एजेन्सी । भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या १२२ जना पुगेको छ । मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेका छन् ।
हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो मंगलबार भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भईरहेको छ ।
प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
घटनास्थलमा पुगेका उत्तर प्रदेश सरकारका एक जना मन्त्री सन्दीप सिंहले मृतकका परिवारलाई दुई लाख रुपैयाँ घाइतेहरुलाई उपचारका लागि ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।
