काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक आयोगहरुको प्रभावकारीता बढाउन राज्यले प्रयाप्त स्रोत साधन उपलव्ध गराउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समावेशी आयोगको तेश्रौ वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरुले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस बिषयमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको हो ।
स्रोत साधनको अभावमा लक्ष्य अनुसारको काम पुरा हुन नसक्ने उहाले बताउनुभयो । उहाले आयोगहरुले पनि आफ्नो क्षेत्राधिकारमा रहेको कामलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिनुभयो । तिमिल्सिनाले आयोगले गरेका सिफारिसहरुलाई राज्यका सम्बन्धीत निकायहरुले कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । उहाले जुनसुकै नागरिकले विना अवरोध राज्यबाट सेवा पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाले राजनीतिमा बिभिन्न प्रकारका विभेद अन्त्य गरि समावेशी सिद्धान्तलाई अवलम्वन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिनुभयो । आरक्षणलाई सामाजिक न्यायको दृष्टिकोणबाट उपयुक्त बनाउन पनि सिफारिस गरिएको उहाले बताउनुभयो ।



