काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए ।
‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।



