काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव समेत दिनुभयो ।
उहाले तत्थ्याङ्को मूल्याङ्कन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको जिकिर गर्नुभयो । बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिएपनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उहाले बताउनुभयो ।
गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजि क्षेत्रका वास्तविक समस्याहरु आए समधान गर्न केन्द्रीय बैंक तयार रहेको धारणा राख्नुभयो । उहाले बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गर्नुभयो । विना प्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केहि नहुने उहाको भनाइ छ ।



