काठमाडौं । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोबारी एक जना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन् । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४र५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आईतवार राती साढे १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाईकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका राम संगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारत तर्फ भाग्न सफल भएको थियो । एस्पी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोबारी हुनसक्छ ।
उसको साथबाट बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
