वीरगञ्ज । प्रचण्ड गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीले वीरगञ्ज महानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।
महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उहाँले जानकारी दिए ।
बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।



