काठमाडौं । आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो ।
त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वाधार विकासका क्रममा दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न दिवसले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।



