काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद गौतमले सुशासनको प्रत्याभूति गर्दै जनतामा आशा बढाउन नसके मुलुक दुर्घटनातर्फ जाने भन्दै मुलुकलाई जोगाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो ।
उहाले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गर्दै संघीयता, निर्वाचन प्रणाली लगाएका बिषयमा छलफल गरेर संशोधनको बाटोतर्फ अघि जानुपर्ने धारणा राख्नुभयो ।
देशमा पटक पटक गठबन्धन र सरकार परिवर्तन भएपनि जनतामा भने कुनै आशाको सञ्चार नभएको उहाको भनाइ छ । सांसद गौतमले जनतामा आशा र भरोषा दिलाउनका लागि पनि दलहरु गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै राप्रपा सांसद विक्रम पाण्डेले राष्ट्रिय सहमतिका साथ आफुले गरेको गल्तीलाई स्वीकार गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाले देशलाई समस्याबाट मुक्त गर्नका लागि सवै दलहरु गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाले गणतन्त्ररुपी गाडीको तेल सकिसकेको भन्दै गन्तव्यमा पुराउन नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनुभाये ।
