४ फागुन, काठमाडौं । पछिल्लो एक वर्षमा घरेलु मैदानमा नेपाली क्रिकेटले सफलता हात पार्न सायद केहि बाँकी रहेन । त्यसैले धेरैले नेपाललाई घरेलु मैदानमा हार्न नजानेको टोली पनि भने ।आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा अन्तिम ८ खेल (नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईसँग समान २)मा जित र एसीसी प्रिमियर कपको उपाधि उचाल्दै नेपालले पहिलो पटक एसिया कप खेल्यो।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट सेमिफाइनलमा युएईलाई हराउँदै ९ वर्षपछि पुन विश्वकपमा पुग्यो । मोन्टी देशाई गतवर्ष नेपालको मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले नयाँ ब्रान्डको क्रिकेट खेल्यो । नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध क्रमशः २८५, २७४, २७४ र २१२ रनको लक्ष्य सफल पूर्वक पूरा गरेको थियो ।
मोन्टीको ह्याप्पी ड्रेसिङ रुम र एक बलको युद्ध मन्त्रमा नेपालले एकपछि अर्को जित हात पार्यो । मोन्टीको आगमनमा लगातार १३ ओडीआई खेल घरेलु मैदानमा जितेको थियो । त्यो जित यात्रामा नामिबियाले बिहीबार ब्रेक लगाएको छ ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजबाट लिग-२ को २०२४/२०२७ सिजन सुरुवात भएको छ । एसोसिएटको बादशाह नेदरल्यान्ड्सले नेपालसँग खेल्दै लिग–२ को सुरुवात गर्नेछ । यसअघि नेदरल्यान्ड्सले १२ टेस्ट टोलीसँग सुपर लिगमा प्रतिस्पर्धा गरेको थियो ।



