वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्क्ली नेपाली नोटसहित एक भारतीय समेत गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साह छन्र ।
१३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिकाको – ९ मा छापामारीबाट उक्त नोट बरामद भएको प्रवक्ता न्यौपानेले बता ।
पक्राउ परेका तीनै जना नेपालीहरुको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपाने जानकारी िदए । यसैगरी प्रहरीले साइकलमा नेपाली नक्कली नोट लिएर आउँदै गरेका भारत विहार मोतिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पक्राउ गरेको हो ।
उनको साथबाट ६ लाख ९ हजार नक्कली नोट बरामद भएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको बताएको छ । प्रहरीले उनीहरुको साथबाट ना ३४ प ३५१२ र बीआर ६ ए डब्लु, २७५८ नम्बरको मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



