काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै १२० रन मात्र बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले १०, आसिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्वाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।
त्यस्तै नेपालका बलर अविनाश बोहोराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए । अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिका विरुद्ध खेल्ने तालिका रहेको छ ।



