काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
यस वर्षको जैविक विविधता दिवसको नारा ‘योजनाको हिस्सा बन्नुहोस्’ रहेको छ । अर्थात् यस वर्ष राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप गतिशिल हुन जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ । नेपाल भौगोलिक रूपले सानो देश भए पनि, जैविक विविधताको हिसाबले विश्वको २५ औँ र एसियाको ११ औँ स्थानमा रहेको छ ।
विश्वमा पाइने कुल वनस्पती प्रजातिको ३ दशमलव दुई प्रतिशत र कुल जीवजन्तु प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ । यी प्रजातिहरूमध्ये कैयौँ रैथाने प्रजाति छन् । केही नेपालमा मात्रै पाइने प्रजाति पनि छन् । विविध भूबनोट, दुर्लभ जीव र वनस्पति प्रजाति रहेको नेपालको जैविक विविधता महत्त्वपूर्ण छ । नेपालमा अहिलेसम्म वनस्पतिका झण्डै १२ हजार प्रजाति सूचीकृत भइसकेका छन् ।



