काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले सोमबार १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् । यसअघि जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त रिटमा जसपा फुटपछि नयाँ दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि बोलाएको थियो ।



