काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरोपका बारेमा बोल्न नदिएर सदन अवरुद्ध गर्ने कांग्रेसको शैली अधिनायकवादी भएको बताउनुभएको हो ।
उहाले अव संसदको बैठकमा कांग्रेसले बोल्न रोक लगाए आफुहरुले प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो । राजनीतिक अभिष्ट पुरा नभएकाले कांग्रेसले अरुलाई अपराधी देखेको भन्दै उहाले कसैका बारेमा फैसला गर्ने कांग्रेस सांसदहरु न्यायाधीश नभएको बताउनुभयो ।
उहाले कांग्रेसको दादागिरी चल्ने ठाँउ संसद नभएको भन्दै विधि विधान र लोकतान्त्रीक पद्दती अनुसार संसद चल्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले एमालेले सदन चल्न दिएन भनेर कांग्रेसले भ्रम फैलाएको र एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप उछालेको तर्क गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सदनमा सभामुख विरुद्ध उदण्डता प्रदर्शन गरेको बताउनुभयो ।
त्यस्तै उहाले गिरिबन्धु टीस्टेटका विषयमा आएको फैसला अपरिपक्क भएको भन्दै आफूहरुले यसमा कानुन बनाउने काम मात्र गरेको प्रष्ट पार्नुभयो । ओलीले आफुहरुले कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर किस्ती स्वीकारेको नभएको भन्दै बलिदान दिएर, संघर्ष गरेर, लोकतन्त्र ल्याएका मानिस भएको जिकिर गर्नुभयो । उहाले कांग्रेसको कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाउनु आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।
