काठमाडौं । नेपाली फ्रेन्चाइज क्रिकेटको महाउत्सव ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि औपचारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच उद्घाटन खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बेलुकी ५ बजे सुरु हुने यो रोमान्चक खेलसँगै एनपीएलको तेस्रो संस्करणको बिविध कार्यक्रम सुरु हुनेछ ।
यस वर्षको प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाज गरी कुल आठ वटा फ्रेन्चाइज टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलको यस तेस्रो संस्करणमा विजेता टोलीले पाउने पुरस्कार राशिमा वृद्धि गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार यसपालिको विजेता टोलीले नगद १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । गत वर्षको विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले जनही १ करोड १० लाख रुपैयाँ प्राप्त गरेका थिए ।
त्यस्तै, यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणको एनपीएलमा विश्वभरका ख्यातिप्राप्त स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगिताको गरिमा र आकर्षण अझ उचाइमा पुगेको छ ।
यसपटक डेभिड वार्नर, आन्द्रे रसेल, मोइन अली, शाकिब अल हसन, एन्जेलो म्याथ्युज, रबी बोपारा, जिमी नीशम, एलन, निरोशन डिकवेला, चरित असलंका, स्कट कुगेलेइन्ससहितका दर्जनौँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरू नेपाल आएका छन् । विदेशी स्टारहरूको यो उपस्थिति र आगमनले नेपाली क्रिकेटलाई ग्लोबल मार्केटमा थप परिचित गराउनुका साथै फ्रेन्चाइज टिमहरूको व्यावसायिक दायरा फराकिलो बनाएको छ ।
प्रतियोगिता सुरु भएसँगै देशैभरका क्रिकेटप्रेमीहरूको ध्यान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानतर्फ केन्द्रित भएको छ । ठूलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति र भीडभाडलाई मध्यनजर गर्दै प्रवेशद्वार व्यवस्थापन, डिजिटल टिकट जाँच, बस्ने सिट व्यवस्था, सुरक्षा, प्राथमिक उपचार, सरसफाइ र यातायातमा विशेष सतर्कता अपनाइएको छ । यसपटकको खेलमा ‘डिसिजन रिभ्यु सिस्टम’ ९म्च्क्० को समेत प्रयोग गरिने भएको छ ।
टिकटको मूल्य साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ भने एलिमिनेटर र फाइनल खेलका लागि साधारणको १ हजार र प्रिमियमको २ हजार रुपैयाँ निर्धारण गरिएको छ । टिकट बिक्रीका लागि ‘ईसेवा’ लाई आधिकारिक पार्टनर बनाइएको छ ।
मंसिर ५ गतेसम्म चल्ने यस महाउत्सवले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात, विज्ञापन र पर्यटन क्षेत्रमा समेत आर्थिक गतिशीलता र माग सिर्जना गर्ने अपेक्षा छ ।
