काठमाडौं । नेपालको सर्वाधिक महत्वको क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण औपचारिक तथा प्राविधिक तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलनमार्फत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने यस महाकुम्भको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली क्रिकेट इतिहासमै यसपटक आर्थिक र व्यवस्थापकीय दुवै दृष्टिले एनपीएललाई अत्यन्तै भव्य रूपमा सञ्चालन गर्ने क्यानको योजना रहेको छ ।
यस वर्षको प्रतियोगितामा कुल ७० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने क्यानले उच्च अपेक्षा राखेको छ भने विभिन्न शीर्षकबाट करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । विजेता टिमका लागि पुरस्कार राशिमा पनि भारी वृद्धि गरिएको छ ।
क्यानका अनुसार तेस्रो संस्करणको विजेता टोलीले नगद डेढ करोड रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टिमले ३० लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
विदेशी स्टार खेलाडीहरूको आगमन र उच्च सुरक्षा प्रबन्धसहित सुरु हुन लागेको यो प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ आर्थिक तथा व्यावसायिक युगको सूत्रपात गर्ने विश्वास लिइएको छ ।
