काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिका तर्फका जनप्रतिनिधि उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।
पार्टीका अनुसार नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा नेतृत्व लिन इच्छुक र योग्य आकांक्षीहरू लाई लक्षित गरी ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत आवेदन आह्वान गरिएको हो।
रास्वपाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहमा पार्टीको तर्फबाट नेतृत्व गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन आग्रह गरेको छ ।
यसअघि गत भदौ १ गतेदेखि नै गाउँपालिका तहका लागि आवेदन खुला गरिसकेको रास्वपाले अहिले नगरपालिका तहमा पनि सोही प्रक्रिया अघि बढाएको हो ।
पार्टीका अनुसार रास्वपाको तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले अनिवार्य रूपमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ । प्राप्त आवेदनहरूको आधारमा प्रारम्भिक छनोट प्रक्रिया पूरा गरी योग्य र सक्षम उम्मेदवारहरूको चयन कार्य अगाडि बढाइने पार्टीले जनाएको छ ।
