वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका र नेपालबाट भारततर्फ जाँदै गरेका दुई जनालाई वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलनजिकबाट पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका–५, नर्कटवा निवासी १८ वर्षीय शेख सहजातलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो।
जाँच गर्ने क्रममा उनले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, मितेरी पुलनजिकै खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँलाई पक्राउ गरेको थियो।
उनले बोकेको झोला जाँच गर्दा लुकाइछिपाई लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
ब्राउन सुगर र गाँजासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ।
