काठमाडौं । आइसिसी विश्वकप लिग-२ प्रतियोगिताअन्तर्गत नेपालले आज (मंगलवार) आयोजक ओमानको सामना गर्दै छ । ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा ओमानले उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गरिसकेको छ । ओमान २९ खेलबाट १४ जित र ११ हारसहित ३३ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।
अर्कातर्फ, आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउने मुख्य अभियानमा रहेको नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । अघिल्लो खेलमा क्यानडामाथि हासिल गरेको शानदार जितले नेपाल एक स्थान माथि उक्लिँदै तालिकाको छैटौँ स्थानमा पुगेको छ। नेपालले हालसम्म खेलेका ३३ खेलमा १२ जित र १९ हारसहित २६ अङ्क जोडेको छ ।
नेपाल र ओमानसूबिच हालसम्म ११ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलहरूमा भिडन्त भएको छ। जसमा ओमानले ६ खेलमा जित निकालेको छ भने नेपाल ५ खेलमा विजयी भएको छ ।
यद्यपि, यी दुई टोलीबिच भएको पछिल्लो भेटमा नेपाल हाबी भएको थियो । एसिसी प्रिमियर कपमा भएको उक्त खेलमा नेपालले ओमानलाई ८७ रनको भारी अन्तरले पराजित गरेको थियो । क्यानडाविरुद्धको जितले टोलीको मनोबल उच्च बनाएकाले आज पनि ओमानविरुद्ध जित निकाल्दै अङ्क तालिकामा स्थिति अझ मजबुत बनाउने लक्ष्यमा नेपाली टोली मैदान उत्रिनेछ ।
