काठमाडौं । निरन्तरको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध बनेका छन् ।
पहिरो र नदी कटानको जोखिम अत्यधिक बढेपछि दर्जनौँ जिल्लामा रात्रकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ भने धेरैजसो स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा स्थगन गर्न सुरक्षा निकायहरूले अपिल गरेका छन् ।
बागमती प्रदेशको चितवन र धादिङमा निरन्तर खसिरहेको पहिरोका कारण काठमाडौँ जोड्ने जीवनरेखा मानिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द भएका छन् । पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर र पानीधारामा ठूला-ठूला ढुङ्गासहितको भीषण पहिरो खस्दा बाटो अवरुद्ध बनेको छ ।
त्यस्तै नुवाकोटको टोखा–छहरे सडक खण्डमा अत्यावश्यक सेवाबाहेकका अन्य सार्वजनिक तथा निजी सवारी साधनहरूलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ ।
रसुवाको उत्तरगयास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा नदी कटान र बाढीले पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि टोखा, छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ ।
पूर्वी नेपाल जोड्ने बीपी तथा अरनिकोसहित कान्ति लोकपथ पनि पहिरोका कारण बन्द छन् । काभ्रेको चारसयबेँसी, गिम्दीबेँसी तथा धुलिखेलको पकुचामा खसेको ठूलो पहिरोले बीपी र अरनिको राजमार्ग ठप्प पारेको छ ।
मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट निश्चित समय तालिका तोकेर गाडी छाड्ने व्यवस्था गरिएको छ, जहाँ १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक वाहनलाई प्रवेशमा रोक लगाइएको छ ।
कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुरमा मध्यपहाडी तथा सिद्धिचरण लोकमार्गमा साँझदेखि बिहानसम्म सवारी चलाउन निषेध गरिएको छ । गण्डकीका मनाङ, कास्की, मुस्ताङ, म्याग्दी र पर्वतका ग्रामीण तथा मुख्य सडकहरू ९बेँसीसहर–खाङसार, पोखरा–बागलुङ खण्ड० मा पनि रात्रकालीन यात्रामा पूर्ण रोक लगाइएको छ ।
लुम्बिनी र कर्णालीका रोल्पास्थित मदन भण्डारी राजमार्ग (माडीचौर खण्ड) र सहिदमार्ग, दाङको तुलसीपुर–घोराही खण्डअन्तर्गत ग्वारखोला पुलमुनिको माटो खस्दा आवतजावत ठप्प भएको छ । उता डोटी जिल्लामा भने लगातारको वर्षा र जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले २४ घण्टाका लागि सम्पूर्ण सवारी साधनको आवागमनमै पूर्ण रोक लगाएको छ ।
यसैगरी गुल्मीको रिडी–तमघास, ओखलढुङ्गाको सिद्धिचरण, बागलुङ र नवलपरासीको कालीगण्डकी करिडोर, कालिकोटको कर्णाली राजमार्ग, हुम्लाको कर्णाली करिडोर, मुस्ताङको जोमसोम–कोरला, दार्चुलाको महाकाली राजमार्ग तथा पाल्पा–स्याङ्जा जोड्ने सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा लेदो र पहिरोले सडक सञ्जाल विच्छेद गराएको छ ।
सडक डिभिजन कार्यालयहरू र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली भारी उपकरणसहित अवरुद्ध राजमार्ग खुलाउन र बीच बाटोमै रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानतर्फ पठाउन निरन्तर परिचालन भइरहेका छन् ।
