काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित डिजाइन र नयाँ सुरक्षण विशेषताहरूसहितको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट आज (बिहीबार) देखि बजारमा चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको यो नोट साविककै आकारमा रङ संयोजन परिवर्तन गरी निष्कासन गरिएको जनाएको छ । नयाँ नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्ग प्रयोग गरिएको छ भने यसमा गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।
नयाँ नोटको अग्रभागमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप समावेश गरिएको छ। साथै, दृष्टिविहीन व्यक्तिहरूले स्पर्श गरेर नोट सजिलै पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ ९ः० तथा तेर्सा रेखाहरू राखिएका छन् ।
आधुनिक सुरक्षण प्रविधिलाई ध्यानमा राख्दै सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्रका साथै सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागोसमेत राखिएको छ ।
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र सजाइएको छ। यसका अलावा नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सात वटा लालीगुराँसको चित्र र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत कोरिएको छ ।
नयाँ नोटको सङ्केत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ । यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको ‘सिरिज २०१९’ को नोट ६८२००००१ देखि ९१४४०००० सङ्केत नम्बरसम्म मात्र जारी गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
