काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार स्थगित भएको सेयर कारोबार आज (मङ्गलबार) देखि पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ । नेप्सेका ७२ वटा कारोबार सदस्य (स्टक ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको ‘डेटा हब प्रालि’ मा देखिएको प्राविधिक समस्या पूर्ण रूपमा समाधान भएसँगै सेयर कारोबार सञ्चालनमा ल्याउन लागिएको नेप्सेले जनाएको छ ।
डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि अचानक प्राविधिक समस्या आएको थियो। उक्त अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको समग्र कारोबार प्रणालीमा नै क्षति पुग्न सक्ने जोखिम देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेलाई औपचारिक निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा नेप्सेले ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ को नियम २१ (१) बमोजिम असोज ५ गते सोमबारका लागि नियमित सेयर कारोबार स्थगित गर्ने निर्णय गरेको थियो ।
एक दिनको स्थगनपछि डेटा हबको प्राविधिक समस्या निरुपण भएको पुष्टि भएसँगै आजदेखि पूर्ववत् रूपमै नियमित कारोबार सञ्चालन हुने जानकारी नेप्सेले दिएको छ ।
