वीरगञ्ज । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका बाराको कलैया उपमहानगरपालिका–२३ का सुभाष पटेलको २१ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
गाडी बनाउनका लागि सीमा क्षेत्रतर्फ गएका पटेल बाढी आएको समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन्। बाढीपछि परिवारले विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि उनको अवस्था पत्ता लाग्न सकेन।
लामो समयसम्म खोजी गर्दा समेत पटेलको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेको हो।
पटेल सम्पर्कविहीन भएपछि परिवारले उनको तस्बिर सार्वजनिक गर्दै उनलाई देख्ने वा भेट्ने व्यक्तिलाई सम्बन्धित फोन नम्बरमा जानकारी गराइदिन अनुरोधसमेत गरेको थियो। तर, २१ दिनसम्म पनि उनको अवस्था यकिन हुन नसकेपछि परिवारले धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेको जनाएको छ। परिवारले पटेलको खोजीका लागि लामो समयदेखि विभिन्न निकाय तथा आफन्तमार्फत प्रयास गर्दै आएको थियो।
