वीरगञ्ज । वीरगञ्जको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले सडक सीमाभित्र परेका बाँकी संरचनाहरू हटाएर भोलि (सोमबार) सम्ममा विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर एवं वीरगञ्ज क्षेत्रका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा देखिएका विवादहरू आजै समाधान गरी सोमबारसम्ममा बाँकी काम पूरा गर्ने लक्ष्य लिइएको छ। सडक विस्तारसँगै नापजाँचको कामसमेत आउँदो एक साताभित्रै सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।
सडक सीमाभित्र परेका अधिकांश भवन तथा संरचनाहरू यसअघि नै हटाइसकिए पनि हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही बाँकी भागहरू हटाउने काम तीव्र गतिमा भइरहेको छ। कतिपय घरधनीहरूले आफैँ आंशिक रूपमा मात्रै संरचना भत्काएर छाडेकाले ती अधुरा संरचनाहरू पूर्ण रूपमा हटाउन डोजर प्रयोग गरिएको प्रहरी र डिभिजन टोलीले जनाएको छ ।
सडक डिभिजन कार्यालयले पहिलो चरणअन्तर्गत गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब १ हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर लगाएर भत्काएको थियो। त्यसबेला उत्तरको गण्डक क्षेत्र र दक्षिणको मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरी अभियान थालिएको थियो ।
पहिलो चरणको कारबाहीपछि सडक सीमाभित्र परेका बाँकी संरचना स्वतः हटाउन २५ दिनको समयसीमा दिइएको थियो । तर, तोकिएको समयभित्र घरधनीहरूले संरचना नहटाएपछि गत असार २० गतेदेखि दोस्रो चरणको डोजर अभियान चलाएर बाँकी संरचना हटाउन थालिएको इन्जिनियर दुर्गाप्रसादले बताए । मुख्य सडक विस्तार भएसँगै वीरगञ्जको ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
