वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका पैदलयात्री युवकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल निवासी १९ वर्षीय अलोक कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शुक्रबार बिहान मृतकका बुबा सुभाष कुमार साहले परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा पुगेर शव आफ्ना छोरा अलोकको भएको पहिचान गरेका हुन्।
प्रहरीका अनुसार बिहीबार राति करिब ९ः१० बजे कलैया उपमहानगरपालिका–२३ स्थित गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो।
सुमोको ठक्करबाट गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो।
उनको राति १०ः३५ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
