वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट प्रहरीले १८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति गाँजासहित स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका–४ का सुरज यादव र दुःखी महतो नुनिया रहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य तीन जना प्रहरी टोलीलाई देखेपछि फरार भएका छन् । फरार व्यक्तिहरूको पहिचान भइसकेको र अनुसन्धान प्रभावित नहोस् भनेर उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
