काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार देशका विभिन्न ९ वटा वाणिज्य बैंकमा रहेका कोषका खाताहरूमा सो रकम सङ्कलन भएको हो ।
यसैगरी वैदेशिक सहायता र विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगअन्तर्गत हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खाताहरूमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । बाढीको विनाशकारी असरपछि स्वदेश तथा विदेशबाट दाताहरूले तीव्र रूपमा सहयोग रकम जम्मा गरिरहेका छन् ।
सहयोग रकमको पारदर्शी उपयोग र सम्भावित वित्तीय ठगी रोक्न सरकार सजग रहेको प्रधानमन्त्रीले बताएका छन् । “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआर कोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,” प्रधानमन्त्री शाहले भने । सरकारले प्राप्त रकमलाई बाढी प्रभावित क्षेत्रमा उद्धार, द्रुत राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि प्राथमिकताका साथ खर्च गरिने जनाएको छ ।
