बुटवल, ६ भदौ। बाराको जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बुटवलमा महिलाहरूले प्रदर्शन गरेका छन्।
महिला अधिकारकर्मी तथा स्थानीय महिलाहरूले शनिबार ट्राफिकचोकबाट विरोध प्रदर्शन सुरु गरेका थिए। उच्च अदालत तुल्सीपुर, बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको प्रदर्शनमा सहभागीहरूले प्रहरी कार्यालयको गेटबाहिर नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे।
प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने, बालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
गरिमा गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा मंगलबार साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा बेपत्ता भएपछि जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापाले चकलेट दिएर उनलाई फकाई घटनास्थलतर्फ लगेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिक गाडीका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण, अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको छ।
गरिमा हत्या प्रकरणमा दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देहीलगायत विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्।
