४ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरेको छ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। मन्त्रालयका अनुसार प्रत्येक जिल्ला शाखालाई एक–एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको छ।
सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभयो। राज्यका गतिविधि, नागरिकका समस्या तथा जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
मन्त्री महतोले पछिल्लो समय समाजमा भ्रमपूर्ण सूचना तथा असत्य समाचार फैलिने जोखिम बढेको भन्दै तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारितालाई प्राथमिकता दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
उहाँले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, व्यावसायिकता तथा संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सञ्चार क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न सरकार, मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको संयोजन मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो।
मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका कार्यालय सामग्रीले जिल्ला शाखाहरूको नियमित प्रशासनिक तथा सञ्चारसम्बन्धी कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
