वीरगञ्ज, ४ भदौ। जेनजी पर्साले बलात्कारजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुने कानुन बनाउन सरकारसँग माग गरेको छ।
जेनजी पर्साले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै बलात्कारका दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेको हो।
जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मीका अनुसार अहिले दुई तिहाइ बहुमतको सरकार रहेकाले संविधान संशोधन गरी द्रुतमार्गबाट बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिएको हो।
ज्ञापनपत्रमा हालै बाराको जीतपुरसिमरा–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पनि हदैसम्मको सजाय दिन माग गरिएको छ।
यसैगरी पर्सा जिल्लाका महिला, किशोरी तथा बालिकाहरू हिँडडुल गर्ने सार्वजनिक स्थल, विद्यालय र कार्यक्षेत्रमा सुरक्षा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरिएको संयोजक कुर्मीले बताए।
जेनजी पर्साले महिला तथा बालबालिकामाथि हुने हिंसा र यौनजन्य अपराध नियन्त्रणका लागि राज्यका सुरक्षा संयन्त्रलाई थप जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।


