काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि बेपत्ता भएका साढे दुई वर्षीय बालक शिवान तामाङलाई शंखदेवी सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ ।
हजुरआमा च्याउ टिप्न गएको बेला घरबाट अचानक हराएका बालकको खोजीका लागि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
व्यापक खोजतलासका क्रममा दुई दिनपछि भागर खोलाको सिराननजिकै बालकलाई सकुशल फेला पारिएको हो । त्यसलगत्तै स्थानीय प्रहरी र आफन्तहरूको रोहबरमा आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सकुशल रूपमा परिवारको जिम्मा लगाइएको छ ।
