काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । विश्वास को मत प्राप्त गर्ने कुनै पनि अनुकूल राजनीतिक समीकरण वा सङ्ख्या नपुग्ने भएपछि शाहले आज साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने तयारी गरेका छन् ।
गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहका लागि संविधानप्रदत्त ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक सीमा आजै पूरा हुँदैछ ।
मुख्यमन्त्री शाहको बहिर्गमनसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक तथा राजनीतिक प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ । यसअघि नै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले समेत समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरिसकेको छ ।
प्राप्त जानकारी अनुसार, नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति भइसकेको र सोही समझदारीका आधारमा अब नेकपाको नेतृत्वमा नयाँ संयुक्त सरकार निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
