काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान आफ्नै कोठाको फ्यानमा सलको पासोले झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी दीपककुमार कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको खुलेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने शव परीक्षण ९पोस्टमार्टम० का लागि पठाउने तयारी गरिरहेको छ ।
मृतक पासवान यसअघि काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । तर सरकारले त्यहाँका अवैध टहराहरू भत्काएपछि उनी पछिल्लो समय भक्तपुरस्थित उक्त होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका थिए ।
यस दुःखद घटना पछि प्रहरीले आत्महत्याको वास्तविक कारण पत्ता लगाउन र यससँग सम्बन्धित अन्य पक्षहरूको बारेमा थप अनुसन्धानलाई तीव्रता दिएको छ ।
