काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्षसहित ६ जना सञ्चालकविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्मार्टसेलको ३५ अर्ब रुपैयाँ घोटाला र कानुन विपरीत सरकारी सम्पत्ति लिलाम गरेको आरोपमा उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी भएको हो । साथै, उनीहरूको व्यक्तिगत बैंक खाता समेत रोक्का गरिएको छ ।
व्यक्तिगत खाता रोक्का र पक्राउ पुर्जी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्राचारका आधारमा नेपाल राष्ट्र बैंकले एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, सञ्चालकहरू प्रणय राजभण्डारी, दीपकांकर शाक्य, कविकुमार तिवडेवाल, शालिकराम बेलवासे र शोभा श्रेष्ठको व्यक्तिगत बैंक खाता रोक्का गरेको छ ।
राष्ट्र बैंक स्रोतले यो कुराको पुष्टि गर्दै अध्यक्ष पाण्डेसहितका ६ जना सञ्चालकका नाममा अदालतबाट पक्राउ पुर्जी समेत लिइएको जनाएको छ । यद्यपि, बोर्ड बैठकमा सहभागी भई भत्ता बुझेका अर्का सञ्चालक मदनकुमार आचार्यले भने सीआईबीमा बयान दिएका कारण तत्कालका लागि पक्राउ पुर्जीबाट जोगिन सफल भएका छन् ।
विवादास्पद सम्पत्ति लिलामी र अनुसन्धान
स्मार्टसेलको उक्त घोटाला प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकको निर्देशन र सर्वोच्च अदालतको फैसलाको समेत बेवास्ता गर्दै बिना मूल्याङ्कन सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति स्वार्थ बाझिने गरी कानुन विपरीत एनसेललाई बिक्री गरेको तथ्य फेला परेको छ ।
यसअघि यसै प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेसमेत पक्राउ परेका थिए भने पछि सर्वोच्च अदालतको आदेशमा उनी रिहा भएका थिए । विवादित बन्दै गएपछि एनसेलले समेत आफू विवादमा नपर्ने भन्दै पैसा फिर्ता गर्न आग्रह गर्दै बैंकलाई पत्र पठाएको थियो ।
बैंकिङ क्षेत्रमा खैलाबैला र राष्ट्र बैंकको चासो
एकैपटक बैंकको उच्च व्यवस्थापन तथा नेतृत्व नै कानुनी दायरामा आउने भएपछि नेपाल राष्ट्र बैंकले गम्भीर चिन्ता व्यक्त गरेको छ । यो कुनै साधारण औद्योगिक घरानाको विवादजस्तो नभई लाखौँ सर्वसाधारणको निक्षेप र हजारौँ पब्लिकको सेयर जोडिएको संवेदनशील बैंकिङ क्षेत्र भएकोले यसले समग्र प्रणालीमा पार्न सक्ने असरलाई नजिकबाट नियालिरहेको राष्ट्र बैंकका उच्च अधिकारीहरूले बताएका छन् ।
