२१ साउन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज, नियमित र पारदर्शी बनाउन जिल्लाभरका ग्यास विक्रेतालाई कृत्रिम अभाव सिर्जना, कालोबजारी तथा बढी मूल्य असुल नगर्न कडा निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी अत्यन्त जरुरी सूचनामा केही विक्रेताले ग्यास लुकाएर (भण्डारण गरी) कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा निर्धारित मूल्यभन्दा बढी रकम असुलेर बिक्री वितरण गरिरहेको जनगुनासो प्राप्त भएकाले प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रशासनले उपभोक्ताको हकहितविपरीत हुने यस्ता गैरकानुनी तथा दण्डनीय गतिविधि तत्काल बन्द गर्न निर्देशन दिँदै सबै व्यवसायीलाई तोकिएको मूल्यमा अनिवार्य रूपमा बिल वा रसिदसहित ग्यास बिक्री–वितरण गर्न सचेत गराएको छ।
सूचनाको अवज्ञा गरी कृत्रिम अभाव सिर्जना गरेको, मूल्य वृद्धि गरेको वा कालोबजारी गरेको पाइएमा ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ तथा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसम्मको कडा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
साथै, ग्यासको कृत्रिम अभाव, कालोबजारी वा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गतिविधि देखिएमा प्रमाणसहित तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई नागरिक दायित्व निर्वाह गर्न प्रशासनले आम उपभोक्तासँग आग्रह गरेको छ।
