वीरगञ्ज, साउन १८ । साउन महिनाको पहिलो सोमबारका अवसरमा वीरगञ्ज महानगरपालिका–१४ चिनिमिल पिपरास्थित पवित्र पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुहरू जल अर्पण, बेलपत्र चढाउने तथा भगवान् शिवको विधिपूर्वक पूजा–आराधनामा सहभागी भएका थिए। भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा दर्शन तथा पूजा सम्पन्न गरेका दृश्य देखिएको छ।
भक्तजनहरूको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल प्रहरी र नगर प्रहरीले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएका छन्। सुरक्षा निकायले भीड व्यवस्थापन, सवारी आवागमन सहज बनाउने तथा कुनै अप्रिय घटना हुन नदिन आवश्यक सतर्कता अपनाएको जनाएको छ।

मन्दिर वरपर मेला-जस्तै चहलपहल देखिएको छ। पूजासामग्री, फलफूल, प्रसाद तथा अन्य सामग्री बिक्री गर्ने अस्थायी पसलहरू पनि उल्लेख्य रूपमा सञ्चालनमा रहेका छन्, जसले धार्मिक वातावरणलाई थप रौनक बनाएको छ।
साउन महिनामा भगवान् शिवको पूजा विशेष फलदायी मानिने धार्मिक विश्वासका कारण प्रत्येक सोमबार यहाँ ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेका छन्।
