काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव तीव्र बन्दै जाँदा आज बागमती, गण्डकी र कोशी प्रदेशका धेरैजसो क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिकै अवस्थित रहेकाले मुलुकभर वर्षाको जोखिम बढेको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। दिउँसै गण्डकी र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मुसलधारे (धेरै भारी) वर्षाको सम्भावना छ ।
आज राति वर्षाको प्रभाव अझ तीव्र हुने पूर्वानुमान गरिएको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई दुवै भू-भागका एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षा हुने महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागसहित मधेश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनेछ । उच्च हिमाली क्षेत्रहरूमा मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ ।
न्यूनचापीय रेखा नजिकिएकाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी नदीनालाहरूमा जलसतह अस्वाभाविक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ । पहाडी क्षेत्रमा पहिरो, भू-क्षय र गेग्रान बहावको खतरा रहेको छ भने तराई तथा मधेसका होचा भू-भागहरू डुबानमा पर्ने जोखिम उच्च छ ।
मौसममा आउने यस फेरबदलका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन र नियमित मौसमी सूचनाप्रति सजग रहन अनुरोध गरेको छ ।
