वीरगञ्ज । नेपाली समाजमा परम्परागत रूपमा मनाइँदै आइएको साउन १५ पर्व आज घर-घरमा स्वादिष्ठ खिर खाएर मनाइँदै छ । असार १५ मा दही-चिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको मौलिक संस्कृतिले नेपाली जनजीवनमा विशेष महत्त्व राख्दै आएको छ ।
साउने झरीको समयमा तातो र पोषिलो खिरले स्वास्थ्यलाई लाभ पुर्याउने भएकाले यो परम्परा स्थापित भएको विश्वास गरिन्छ । दूधमा मरिच, सुुकमेल, केसरलगायतका गरम मसला र मरिच हालेर पकाइने खिरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिरको प्रयोग वैदिकशास्त्रमा पितृ तथा देवकार्यका लागि पनि अनिवार्य मानिएको छ ।
साउन महिना खेतीपातीको चटारो सकिने र हरियालीका कारण गाईभैँसीले धेरै दूध दिने समय पनि हो । गाउँघरमा दूधको उपलब्धता बढी हुने भएकाले छोरीचेली, इष्टमित्र र आफन्तलाई घरमा निमन्त्रणा गरी खिर खुवाउने परम्परा चलेको संस्कृतिविद्हरूको भनाइ छ ।
भगवान् शिवको प्रिय महिना साउन भएकाले शिवलाई दूध र दूधबाट बनेका परिकार चढाउने धार्मिक मान्यता पनि छ । चामलका साथै सागुदाना, सेभई, मकै तथा गाजरको समेत खिर बनाएर खाने चलन नेपाली समाजमा रहेको छ । नेपाली बृहत् शब्दकोशले खिरलाई ‘दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी परिभाषित गरेको छ ।
यसैबिच, राष्ट्रिय दुग्ध विकास बोर्डको निर्णय अनुसार आज देशभर आठौँ ‘खिर दिवस’ मनाइँदै छ । दुग्धजन्य पदार्थको उपभोग बढाउन र यसको पोषणयुक्त महत्त्वबारे सचेतना फैलाउन बोर्डले साउन १५ लाई खिर दिवसका रूपमा मनाउन थालेको हो ।
प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन हुने भएकाले प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ। नेपाली समाजमा असार १५ मा दही-चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउखट्टे र माघ १५ मा मालपुवा खाने जस्ता विशिष्ट मौसमी खानपानका परम्पराहरू रहिआएका छन् ।
