१४ साउन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार साउन १४ गते साँझ ५:०० बजेदेखि साउन १५ गते बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको यस आदेश अनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा-समारोह गर्न, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
निषेधाज्ञा जारी गरिएका चार किल्लाहरू:
- पूर्व: प्रतिमा चोक, बसपार्क बाइपास रोड
- पश्चिम: तिलावे पुल
- उत्तर: गण्डक चोक
- दक्षिण: शंकराचार्य गेट
प्रशासनले तोकिएको आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
