जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–रघुनाथपुरमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीका अनुसार मृतकको शरीरमा धारिलो हतियार प्रहार गरिएका चोटहरू देखिएकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ ।
घटनाबारे पुष्टि गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले प्रारम्भिक अनुसन्धानबाट मृतक नेपाल–भारत सीमा क्षेत्रतिर घुमफिर गर्ने, पाटीपौवामा सुत्ने र मागेर खाने प्रकृतिको व्यक्ति रहेको खुलेको जानकारी दिए ।
धनुषाको सबैला नगरपालिका–१२ स्थित नहरचोकमा रहेको मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटना हाल क्षेत्रमा भइरहेको धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले स्पष्ट पारेको छ ।
मंगलबार राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरी मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक कडेरी मन्दिरका पुजारी नभई बाहिर कामकाज गरी रातिको समयमा मन्दिरमा सुत्न आउने सर्वसाधारण व्यक्ति हुन् ।
घटनाको सूचना पाउनासाथ तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थल पुगेर सुक्ष्म अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना विशुद्ध आपराधिक मनसायबाट प्रेरित भई घटाइएको देखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई साम्प्रदायिक वा धार्मिक विवादसँग जोडेर नहेर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह नफैलाउन सर्वसाधारणमा आग्रह गर्नुभएको छ ।
शान्ति–सुरक्षा कायम राख्न नागरिक स्तरबाट सहयोगको अपेक्षा गर्दै प्रहरीले घटनामा संलग्न अपराधीहरू जो(सुकै भए पनि शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
