काठमाडौं । नेपाली वाङ्मयका ज्योतिपुञ्ज एवं नेपाली भाषालाई भावनात्मक एकताको सूत्रमा बाँध्ने आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुम्दी रम्घास्थित एक सम्भ्रान्त ब्राह्मण परिवारमा जन्मिएका आचार्यको सम्झनामा नेपाल, भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्य रहेका विश्वका विभिन्न मुलुकहरूमा आज भानु जयन्ती मनाइँदै छ ।
उति बेला ‘खस’ भाषाका रूपमा सामान्य मौखिक अभिव्यक्तिमा मात्र सीमित रहेको भाषालाई लिपिबद्ध गरी भानुभक्तले नेपाली भाषा र शब्दको नयाँ मानचित्र कोरेका थिए । तत्कालीन समयमा औपचारिक साहित्य र कविताहरू संस्कृत भाषामा मात्र सीमित रहँदा सर्वसाधारणका लागि साहित्य बुझ्न कठिन थियो ।
यस्तो अवस्थामा भानुभक्तले सम्पूर्ण ‘रामायण’ लाई संस्कृतबाट सरल नेपालीमा भावानुवाद गरी ज्ञान र अध्ययनलाई आम नेपालीको पहुँचमा पुर्याएका थिए ।
आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
भानुभक्तको साहित्यिक यात्रामा एक सामान्य घाँसीको प्रेरणा अनौठो र ऐतिहासिक मानिन्छ। दरिद्र परिवारका घाँसीले घाँस काटेर जम्मा गरेको पैसाले समाजका लागि कुवा खनाएको देखेपछि धनी परिवारका भानुभक्तलाई आफू समाजप्रति उदासीन रहेकोमा आत्मग्लानि भएको थियो । सोही बोधपछि उनले प्रसिद्ध ‘घाँसी’ कविता रचना गरे, जसमा उनले लेखेका छन् स्
