वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरा क्षेत्रमा १७ वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार अपराह्न करिब ४:३० बजे स्थानीय वासीले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शव बरामद गरेको थियो । मृतक कलैया उपमहानगरपालिका–२ दोहरी टोल निवासी जयराम महतोका १७ वर्षीय छोरा आकाश महतो रहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन । मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार आकाश महतो असार २४ गते बुधबार बिहान कपडा किन्न भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
