काठमाडौं । ट्राफिक कारबाहीबाट दुई दिनमा झण्डै ४२ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको २४ घण्टामा दुई हजार १०२ जना चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
यसबाट २१ लाख १० हजार रुपैयाँभन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको छ । त्यस्तै त्यसअघि एकैदिन २० लाख ७९ हजार जरिवाना सङ्कलन भएको थियो ।
जसमा २ हजार ४३८ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका थिए । लेन अनुशासन पालना नगर्ने, जाँड–रक्सी खाएर गाडी चलाउने, लागूपदार्थ सेवन गरी चलाउने, नियम विपरीत ‘राइड शेयरिङ’ गर्ने, सङ्केत बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा गाडी चलाउने लगायतलाई कारबाही गर्ने गरिएको छ ।
